नबिल बैङ्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैङ्कले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।
बैङ्कले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खास गरी वृद्ध वृद्धा, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताउनुभयो ।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यस पटक कम्बल वितरण गरिएको बैङ्कले जनाएको छ ।
त्यस अवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यस वर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैङ्कलाई धन्यवाद दिनुभयो ।
वि.सं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुर्याएको थियो ।
नबिल बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैङ्कले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैङ्कको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ । विशेष गरी उद्यमशीलता विकासको क्षेत्रमा नबिल बैङ्कले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ मार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स सञ्चालन गरी हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना गरेको छ ।
नबिल बैङ्कद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
