ग्लोबल आइएमई बैङ्कको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।

२०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैङ्क बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

वार्षिकोत्सवका अवसरमा बैङ्कको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो ।

“अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अङ्गीकार गर्ने हो,” उहाँले भन्नुभयो ।

बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उहाँले बताउनुभएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कका नीतिहरूको परिपालन गर्दै जाँदा बैङ्क अहिलेको अवस्थामा आइपुगेको बताउँदै मिहिनेत र लगनशीलताले मात्र लक्ष्य प्राप्त हुने उहाँले बताउनुभयो ।

सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताका कारण बैङ्क अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्क बनाउन आफ्नो तर्फबाट पुर्‍याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गर्नुभयो ।

यसै गरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।

रेग्मीले बैङ्कले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


१६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गरेको छ ।

बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमका बिच बैङ्कका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा  पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x