
सिद्धार्थ बैङ्कले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना शेयर धनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैङ्कले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैङ्कको हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने सोही रकम बराबरको नगद लाभांश (करसहित) वितरण गरिनेछ।
प्रस्तावित लाभांश पारित गर्न बैङ्कले असोज २८ गते २५औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सभा सुरु हुनेछ।
सभाले अग्राधिकार शेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। उक्त लाभांश १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ बराबर हुनेछ।
बोनस शेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। नियमनकारी निकायबाट प्राप्त निर्देशन वा राय सुझावअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित हुनेछ।
असोज १६ गतेभन्दा अघिसम्म कायम शेयर धनीहरू मात्र बैङ्कको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
