नेपाल बैङ्क लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ ।
नेपाल बैङ्क सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभयो । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैङ्कले उक्त सहयोग गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योग धन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।
यस अघि शुक्रवार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ ।
नेपाल बैङ्कद्वारा प्रधानमन्त्री उद्धार कोषमा दुई करोड सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%