नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

नबिल बैङ्क लिमिटेडद्वारा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको बैङ्कले जनाएको छ । मिति २०८१ साल जेठ २ गते बसेको नबिल बैङ्कको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैङ्क लगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीस दशक बैंकिङ्ग क्षेत्रको अनुभव बटुली सक्नुभएका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनः बहाली गरेको बैङ्कले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गर्नुभएका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित हुनुहुन्छ । पेसाले चार्टड एकाउन्टेन्ट रहनुभएका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दखल रहेको मानिन्छ ।

नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैङ्क लिमिटेड नबिल बैङ्क लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुवै बैङ्कको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैङ्कको शाखा र विश्वसनीयतालाई थप उचाइमा पुर्‍याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (CPA) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका ढुङ्गानालाई नेपालको बैंकिङ्ग क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभूषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन सङ्घद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुनुहुन्छ । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको अध्यक्षका रूपमा नेपालको बैंकिङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।

नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्क लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरेको बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x