नबिल बैङ्क लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैङ्कले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एक द्वार राहत सङ्कलन र वितरण केन्द्रलाई बैङ्कको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गर्नुभएको छ ।
गत शुक्रवार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैङ्कको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराएको हो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका अनुसार बैङ्कले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ । ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उहाँले भन्नसभयो । उहाँले जाजरकोट र रुकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।
राहत सामाग्री बोकेर नबिल बैङ्कको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुग्नुभएको थियो । नबिल बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।
जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितलाई नबिल बैङ्कको एक करोड सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
