बजेटमा आर्थिक विकासका ठोस योजना हुनुपर्छ : सांसद


सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभई विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले अघिल्लो अर्थमन्त्रीबाट उक्त प्रस्ताव आएकाले अहिले स्वामित्व लिन नसकिने भएकाले पुनः लेखन गर्न माग गर्नुभयो । “मैले यसमा छलफल गर्न त्यति आवश्यक ठानेको छैन । अहिले जे आएको यसले मुलुकको समस्या सम्बोधन गर्न सक्दैन । पुनः लेखन गरेर अर्को आउँछ भने छलफलको आवश्यकता नै पर्दैन ।”, उहाँले भन्नुभयो, “दुई चार वर्षदेखि नै त्यही कुरा छ । एउटा मलकारखाना भनिएको छ । मल दिन त सक्या छैन कारखाना कहिले हो रु खोक्रो आश्वासन बाँड्ने गरी सिद्धान्त नबनाऔँ । काम गर्न, पढ्न र स्वास्थ्य उपचारका निम्ति बाहिर जानुपर्ने अवस्था छ यस्तो कहिले अन्त्य हुन्छ रु मुख्य प्रश्न यही छ ।”

सांसद सोबिता गौतमले दिगो विकास लक्षित विकास नीति, पर्यटन नीति र कृषि शैक्षिक हबका रूपमा विकास गर्न सुझाव दिनुभयो । सांसद विनोद चौधरीले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने बताउँदै भन्नुभयो, “रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा पुनः लगानी गर्न नसक्नु अत्यन्त दुःखद अवस्था हो । पर्यटनमा नयाँ गन्तव्य खोल्न नसक्नु, निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्न नसक्नुजस्ता समस्या यथावत् छन् । तिनको समाधान खोजिनुपर्छ ।”

सांसद जुलीकुमारी महतोले देशको अर्थतन्त्रलाई लयमा अघि बढाउन सिद्धान्त र प्राथमिकतामा ठोस कुरा नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रको समस्या र चुनौती पहिचान प्रस्तुत प्रस्तावले गर्न नसकेकाले पुनर्लेखनको माग गर्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रलाई उत्पादनमा बढी केन्द्रित हुनुपर्ने जनाउँदै भन्नुभयो, “हामीसँग अथाह साधन स्रोत छ तर अहिले हामी मानव विकासको सूचकाङ्कमा सबैमा पछाडि छौँ । त्यस कारण सरकारले बृहत् गुरुयोजना पेस गर्न जरुरत छ ।”विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावका विषयमा आगामी बैठकमा पनि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते मङ्गलवार बिहान ११ बजे बस्नेछ ।

​​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x