नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणको लागि आग्रह गरिएको हो ।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो । साथै उहाँले महासङ्घले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासङ्घको प्रशंसा पनि गर्नुभयो ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठुलो मुलुक भए पनि दुई देशबिचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधवार आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिङ् जीले चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताउनुभयो ।
चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अति कम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताउनुभयो ।
चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठुलो मुलुक हो ।
उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । यसै गरी, उहाँले नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
यो समिटको दोस्रो संस्करण हो । महासङ्घ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । महासङ्घको आग्रहमा सरकारले लगानी सम्बन्धी आठ वटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, यसै गरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ ।
यसै गरी, पहिलो पटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराउनुभयो । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले बताउनुभयो ।
साथै उहाँले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
लगानीको वातावरण थप सुधार गर्न महासङ्घको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलुकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाउनुभयो ।
उहाँले महासङ्घमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
चीनले यही डिसेम्बर एकदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अति कम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गर्नुभयो ।
सिसिपिआइटीका उपाध्यक्ष झाँग साओगांगले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले महासङ्घ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराउनुभयो ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउनुहुँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो ।
महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताउनुभयो ।
समिटमा १२० जना चिनिया व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।
महासङ्घले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासङ्घका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्री दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।
नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%