महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगन्जमा आयोजना गरिएको प्रदर्शनीमा रु १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवर्द्धनलगायतका प्रदर्शनी कक्ष राखिएको थियो ।

प्रदर्शनीमा ६५ कक्ष भए पनि ६१ राखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा रु १५ लाख बढीको कारोबार भएको महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक रूपमा करिब रु तीन लाख आर्थिक कारोबार भएको छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।”

प्रदर्शनीमा कर्णालीका जिल्लाबाट महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको महिला उद्यमी सङ्घका केन्द्रीय सदस्य सरस्वती शर्माले बताउनुभयो ।

उहाँका अनुसार गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले बजार पाएको छ । प्रदर्शनी स्थलमा महिला उद्यमीले पकाएका सेल रोटी, थारु महिलाले पकाएको ढिंक्री अत्यधिक बिक्री भएको थियो ।

उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घले प्रदर्शनी कक्ष निःशुल्क रूपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगन्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको प्रदर्शनीका संयोजक रेवती सिंहले जानकारी दिनुभयो ।

यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको थियो । महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनी वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाको छ । महिला उद्यमी सङ्घले स्थानीय महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि नेपालगन्जमा कोसेली घर पनि सञ्चालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x