ग्लोबल आइएमई बैङ्क लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एक आपसमा सम्झौता सम्पन्न भएको छ ।
बुधवार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभएको छ ।
बैङ्कले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो ।
सो व्यवस्थाले देशमा नवीकरणीय ऊर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरेको बैङ्कले जनाएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो ऊर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरेको छ ।
बैङ्कले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार सो सम्झौताअन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने परियोजनाहरूलाई बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।