नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
परिसङ्घका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उहाँले चिनियाँ राजदूतसँग आग्रह गर्नुभयो ।
अध्यक्ष अग्रवालले परिसङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआइटी) बिचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागिएकोसमेत राजदूत सोङलाई जानकारी गराउनुभयो ।
सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालले जलविद्युत्लगायत प्राकृतिक स्रोतको प्रयोगमार्फत विकास गर्न सक्ने उल्लेख गर्नुहुँदै त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युत् प्रयोग बढाउनुपर्ने सुझाव दिनुभयो । विद्युत् प्रयोग बढ्दा आयात प्रतिस्थापनमा सहयोग गर्ने उहाँको भनाइ थियो । परिसङ्घले औद्योगिक विकासका लागि काम गर्दै आएको बताउँदै उहाँले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।
उद्योग परिसङ्घ र चिनियाँ राजदूतबिच छलफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
