बजेटमा बागमती प्रदेश : स्थानीय उत्साहित

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत बागमती प्रदेशका थुप्रै योजनाहरूलाई समेटेका सर्वसाधारण उत्साहित बनेका छन् ।

आगामी आव २०८१/८२ का लागि कूल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकामा सूचना प्रविधि हबको विकास गरिने बजेट वक्तव्यमा उल्लेख गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०८१/८२ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई सूचना प्रविधि हवको रूपमा विकास गर्न आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गर्नुभयो । सार्वजनिक-निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौँको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने र ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि रु १७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनद्वारा प्रस्तुत बजेट वक्तव्यमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण आगामी आवदेखि सुरु गरिने घोषणा गर्नुहुँदै अर्थमन्त्री पुनले आगामी वर्षभित्र चितवन विमानस्थल विस्तार सम्पन्न गर्न रु ३६ करोड विनियोजन गरिएको उल्लेख गर्नुभएको छ ।

सरकारले बन्द रहेको हेटौँडा कपडा उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पुनले रूग्ण तथा बन्द रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग र गोरखकाली रबर उद्योग सार्वजनिक-निजी साझेदारी ढाँचामा सञ्चालनमा ल्याइने घोषणा गर्नुभयो ।

चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन अघि बढाइने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने र पाटनस्थित मानसिक अस्पतालको स्तरोन्नति गरिने उल्लेख गर्नुभयो ।

सरकारले आगामी आवमा काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । काठमाडौँस्थित वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार र कीर्तिपुरस्थित ‘बर्न’ अस्पतालको पूर्वाधार विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आव २०८१/८२ मा राष्ट्रिय स्तरको ८० खेल आयोजना गर्ने घोषणा गरेको सरकारले काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने जनाएको छ ।

यस्तै आगामी आवमा चितवनको भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध रङ्गशाला तीनै तहका सरकारको साझेदारीमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिएको सरकारले खेल पूर्वाधारतर्फ रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको जनाएको छ ।

सडक भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिएको सरकारले आगामी आवमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनमा विस्तार गरिने, काठमाडौँ तराई मधेस फास्ट ट्र्याकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ आगामी वर्ष सम्पन्न गरिने बजेटमा भनिएको छ ।

काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणलाई तीव्रता दिइने जनाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गरिने र मुग्लिङ–आँबखैरेनी सडक विस्तारलाई सुरु गरिने भएको छ । आगामी आवमा सिस्नेखोला–नागढुङ्गा सडक निर्माण सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने भएको छ ।

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो उद्योग, हेल्मेट, अगरबत्ती, सेनेटरी प्याड, काजु र बदाम प्रशोधन, स्पिड पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाएको सरकारले आगामी आवमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।

विगतको तुलनामा सरकारले बागमती प्रदेशका थुप्रै र महत्त्वपूर्ण योजनालाई बजेट मार्फत सम्बोधन गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । ‘‘सरकारले प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार क्षेत्रका भौतिक संरचना लगायतका कार्यलाई प्राथमिकता दिएको घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ”, हेटौँडा उपमहानगरपालिकाका व्यवसायी सुजन श्रेष्ठले भन्नुभयो, ‘‘यसबाट बागमती प्रदेशमा पर्यटन प्रवर्द्धनसँगै आर्थिक सम्बृद्धिको बाटो खुल्ने छ ।” यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x