महासङ्घद्वारा प्यारालम्पिकमा काश्यपदक विजेता पलेशा गोवर्धन सम्मानित

अध्यक्ष ढकालद्वारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान ।

नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रवार प्यारालम्पिकमा तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीय श्री पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासङ्घले गोवर्धनलाई रु तीन लाख, प्रशिक्षक श्री कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको हो । गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।


सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले श्री गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले महासङ्घका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावना खेलाडी श्री गोवर्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गर्नुभयो । ‘नेपाली युवाहरू प्रतिभावना छन्,’ उहाँले भन्नुभयो, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार सँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुवात गर्नुभएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताउनुभयो । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पार्नुभएको थियो ।

पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासङ्घ अध्यक्ष ढकालको भनाइ छ । महासङ्घ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह्र नाफामूलक संस्था हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x