सिद्धार्थ बैङ्क लिमिटेडले यही पौष २८ गते बिहीबारको दिन २१ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
बैङ्कले साधारण सभा त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ काे वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को चुक्ता पुँजीको ०.६६ प्रतिशतले हुन आउने रकम रु. ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ बराबरकाे नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) र १२.५० प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बोनस शेयर गरी जम्मा १३.१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
सभाले अन्य बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैङ्क तथा वित्तीय संस्थाहरुसगँ मर्जर प्रक्रिया अगाडि बढाउनको लागि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नलाई मूल्याङ्कनकर्ता नियुक्त गर्न र सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।