ज्ञानमाण्डू।काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका छ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपाले विसं २०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरेअनुसार चौँरीदेउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणाको तयारी गरिरहेको छ ।
समितिका संयोजक उद्धव केसीले यही फागुन ७ गते ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्र रूपमा भइरहेको बताउनुभयो । समितिका अनुसार जिल्लाका १५ देखि ६० उमेर समूहका ९६ दशमलव ४८ प्रतिशत जनसङ्ख्या साक्षर भएका हुन् । जसमध्ये एक लाख ९६ हजार १७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका हुन् । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसङ्ख्या रहेको छ ।
जनगणनाअनुसार तत्कालीन अवस्थामा दुई लाख ९२ हजार १७९ जनसङ्ख्या साक्षर भएकामा तत्पश्चातका वर्षमा निरक्षर जनसङ्ख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६/७७ सम्म तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ वटै स्थानीय तहले बाँकी रहेका तथा अभियानका क्रममा साक्षर हुन छुट निरक्षर जनसङ्ख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर नगर/गाउँपालिका घोषणा गरेका हुन् ।
समितिको तथ्याङ्कअनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५ दशमलव २७, धुलिखेलका ९८ दशमलव ०७, बनेपा नपाका ९७ दशमलव ०७, पनौती नपाका ९५ दशमलव ०५, नमो बुद्ध नपाका ९६ दशमलव ४०, पाँचखाल नपाका ९८ दशमलव ९८ तथा खानीखोला गाउँपालिकाका ९६ दशमलव ७१, तेमालका ९५ दशमलव ९७, भुम्लुका ९५ दशमलव ०५, बेथानचोकका ९५ दशमलव ८१, महाभारतका ९७ दशमलव ९८, रोशीका ९८ दशमलव ९८ र चौँरीदेउराली गाउँपालिकाका ९६ दशमलव ८३ जनसङ्ख्या साक्षर भएका हुन् ।
पन्ध्रदेखि ६० वर्ष उमेर समूहका जनसङ्ख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषण गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानुन बमोजिम जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । “जिल्लामा साक्षरता अभियानलाई निरन्तरता दिँदै जानेछौँ, यो अभियान पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सफल भएको हो”, संयोजक केसीको भनाइ छ । यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।
विभिन्न दस्तावेजमा जनाइएअनुसार नेपालमा विसं २००४ मा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो । विसं २००८ पछि भने आम जनसङ्ख्यालाई साक्षर बनाउने अभियानको थालनीसँगै ‘नेपालमा शिक्षा प्रतिवेदन–२०११’ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि विसं २०१३ देखि योजनाबद्धरूपमा अघि बढाइएको हो । साक्षरता शिक्षालाई जीवनपद्धतिसँग आबद्ध गर्न विसं २०२२ देखि कार्यमूलक साक्षरतालाई समावेशपछि विसं २०२८ को राष्ट्रिय शिक्षा पद्धति योजनाको मध्यावधि मूल्याङ्कनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापकता बनाइँदै ल्याइएको छ ।रासस