ज्ञानमाण्डू । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय  व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो  देखाएका छन् । 
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन  १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि  प्रस्ताव गरेका हुन् । 
नेपालका दुई सहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय  उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका  प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय उडानका  लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी  क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना  साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स  (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको  टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् । 

सरकारले भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय  उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सोही अनुरुप दुबैतर्फका  एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन् । प्राधिकरणका प्रवक्ता  क्षेत्रीले अन्तर्राष्ट्रिय एयरलाइन्सले शुरुमा एक साताको उडानका लागि  निवेदन दिएका हुन् । नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा  एयरले हप्तामा १५, मलेसियायन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान  गर्ने प्रस्ताव गरेको छ । 
यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा  सात÷सात वटा, टर्कीले छ वटा, जजीराले दुई वटा, एयर चाइना र चाइना साउदर्न  ले सातामा एक÷एक वटा मात्रै उडान अनुमति मागेका छन् । 
निगमले पाँच गन्तव्यमा उडान गर्दै 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल  एयरलाइन्स) ले भदौँ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच  वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको  क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ ।  उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका टुङ्गिन नसकेको निगमका  प्रवक्ता अर्चना खड्काले बताएका छन् । निगमले उडान गन्तव्य किटान गरी  प्राधिकरणबाट अनुमति लिनेछ । 
यता प्राधिकरणले जनाएअनुसार निगमले भारतको नयाँ  दिल्लीमा १४, बैङ्लोरमा तीन, मुम्बईमा सात तथा चीनको ग्वाङ्जाओमा तीन,  दुबईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात, बैङ्कक हङ्कङ र नारितामा समान  तीन उडान गर्नेगरी प्रस्ताव आएको छ । 
हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१  उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी  अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी  प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच,  अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् । 
बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान  सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले  व्यावसायिक उडान गर्न पाउछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य  मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को  मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल  बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको  उडान सञ्चालन गर्नुपर्ने हुन्छ । 
यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको  गन्तव्य अनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले  जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३०  वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा  अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो ।  सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर  बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा  अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय  गरिसकेको छ । उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको  अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको  तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका  ४८ उडान स्वीकृति भएको बताइएको छ । 
बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री  एयरलाइन्सको आठ तथा समान तीन उडान पाएको सीता, समिट र सीम्रिक एयरले २ वटा  उडान गर्ने अनुमति पाएका छन् । आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको  प्राधिकरणले जनाएको छ । रासस
        
            
    
    