नबिल बैङ्कको ‘नबिल सस्टेनेबल बैङ्किङ’ पाँचौँ वर्षमा प्रवेश गरेको छ । चौथौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैङ्कले ‘नबिल ग्रिन विक’ मनाउन लागिएको बैङ्कले जनाएको छ । नबिल ग्रिन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् ।
साताव्यापी सञ्चालन हुने नबिल ग्रिन विकअन्तर्गत आयोजना हुने वेबिनार शृङ्खलामा नबिल बैङ्कका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरू सहभागी हुनेछन् । उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एक अर्कालाई जोड्ने उद्देश्य लिएको छ ।
नबिल बैङ्कले नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात् गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अङ्गीकार गर्दै आएको छ । बैङ्कको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैङ्कको भनाइ छ ।
नबिल बैङ्कले आफूलाई बैङ्किङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ । जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैङ्कले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा काम गर्दै आएको जनाएको छ ।
दिगो बैङ्किङका उपलब्धिहरू
नबिल बैङ्कले दिगो बैङ्किङ मार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रिनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ । साथै २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत परियोजनामा बैङ्कले लगानी गरेको छ ।
त्यसै गरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ । गत आर्थिक वर्षसम्ममा बैङ्कले कृषि क्षेत्रमा मात्रै ४५.३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
बैङ्कका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ । हाल बैङ्कका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैङ्किङ प्रवर्द्धनमा सक्रियता देखाउँदै हाल एन बैङ्कका प्रयोगकर्ता १६ लाख आठ हजार ८२६ पुगेको बैङ्कको भनाइ छ । बैङ्कले हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ ।
वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रिन विक, घर त नेपाल र दिगो पाइला जस्ता अभियानमार्फत बैङ्कले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी एक हजार २०० जनालाई रोजगारी दिइसकेका छन् ।
दिगो बैङ्किङअन्तर्गत सन् २०२१ मा बैङ्क पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । बैङ्कका अनुसार दिगो बैङ्किङको प्रमुख उपलब्धिको शाखारहित बैङ्किङ विस्तार रहेको छ । त्यस्तै बैङ्कले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ ।
त्यस्तै बैङ्कले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण र प्रशोधन, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनलगायतका परियोजनामा लगानी गरेको छ । बैङ्कको केन्द्रीय कार्यालयमा वर्षाको पानी सङ्कलन प्रणाली स्थापना गरी वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी सङ्कलन गर्दै आएको छ ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको थियो ।
नबिल बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो । बैङ्कले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
 
‘नबिल सस्टेनेबल बैङ्किङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रिन विक मनाइँदै
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    