नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरि काठमाडौँमा सम्पन्न भएको छ ।  दुई देशबिचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए ।
मञ्चको बैठकमा सहभागीहरूलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बिच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताउनु भयो।
सो अवसरमा उहाँले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजीकरण गर्ने , भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोडने र नेपालका  जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति आवश्यक भएको बताउनु भयो ।
यस्तै उहाँले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरु (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरू उठान गर्नु भएको थियो ।
नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठककै अङ्गकै रूपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरूमा छलफल गर्नु  भएको थियो ।
यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरूमा छलफल गरी सजिकरण गर्ने सहमति भएको छ ।
सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो बैठकमा भएका सहमितीका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गर्नु भएको हो ।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताउनु भयो । उहाँले दुवै देशबिच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढङ्गले हुने गरी काम गर्नु पर्ने धारणा समेत राख्नु भयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चको बैठकबाट प्रस्तुत भएका विषयहरूको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनु भयो ।
भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेन्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले  जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताउनु भयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबिचको आर्थिक मुद्धाहरुमा यो बैठक महत्त्वपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयहरूमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो ।
सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारत बिच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनु पर्ने बताउनु भयो ।
यस्तै भारतीय पक्षबाट एन.सुनिल कुमारले नेपाल भारत बिच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताउनु भयो ।
मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ ।
 
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणको विषय हस्तान्तरण
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    