नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्यान्ड बिचको लामो समयदेखिको सम्बन्धलाई औँल्याउँदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्ड बिचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताउनुभयो । ढकालले विगत वर्षदेखि नेपाल र थाइल्यान्ड बिचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरहरूको सङ्केत गरेको बताउनुभयो ।
ढकालले नेपाल र थाइल्यान्ड बिचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिनुभएको थियो । उहाँले नेपाल चिया, कफी र जडीबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सक्ने बताउनुभयो । ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ–आफ्ना छुट्टै र विविधतायुक्त पर्यटकीय स्थलका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेजको विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।
भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताउनुभयो । उहाँले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छ: ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
