नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जना आकाङ्क्षीहरू रहेका छन् । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
बुधवार काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीन जना आकाङ्क्षीहरू उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गर्नुभएको हो । उहाँले भन्नुभयो, “महासङ्घलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासङ्घमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु । यसै सिलसिलामा महासङ्घका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरूमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासङ्घमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै सिलसिलामा महासङ्घको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।”
उहाँले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्र बिच एकता र सहमतिको झनै ठुलो महत्त्व रहने बताउनुभयो । “हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्त्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई चौतर्फी सङ्कटले घेरिरहेको अवस्थामा हामी विभाजन नहोऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकाङ्क्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईँहरूको साथ र सहयोग अपेक्षा गरेको छु ।”
महासङ्घमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
