ग्लोबल आइएमई बैङ्कको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधवार बैङ्कको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैङ्कको नेतृत्व, व्यवस्थापन, ब्रान्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकको विश्वासलाई उजागर गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैङ्कहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैङ्कहरूमा निक्षेप बढेको हो ।
ग्लोबल आइएमई बैङ्क निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको छ । वाणिज्य बैङ्कहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैङ्कको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।
ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैङ्कको ५०० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप हुने विषय सो बैङ्कको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैङ्किङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको सङ्केत रहेको बताउनुभयो ।
“निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैङ्किङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ्ग क्षेत्रमा थप नयाँ नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वसनीय बैंकिङ्ग सेवाहरू प्रदान गर्न थप प्रेरणा दिनेछ,” उहाँले भन्नुभयो, “हामीले यो उपलब्धिलाई हाम्रो बैङ्कको मात्र नभई समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धिको रूपमा लिएका छौँ ।”
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । बैङ्कका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
आधा करोड हाराहारी ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।
बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
