राष्ट्रिय वाणिज्य बैङ्कद्वारा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका  सदस्यहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलवार सञ्चालन भएको छ । कोशी प्रदेश सभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रूपमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभाका माननीय सभामुख अम्बर बहादुर विष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरू ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको त्यसको लागि बैङ्कहरूको ब्याजदर स्थिर हुनुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका माननीय उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले रा.वा.बैङ्कको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानुनी आधार बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा पैसाको महत्त्व, पैसाको आदर्श तम उपयोग, मुद्राको महत्त्व, ब्याजदर, बैङ्क, उत्पादन र रोजगारी बिचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरूले जिज्ञासा राख्नुभएको थियो ।

बैङ्कका अनुसार उक्त कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैङ्कका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैङ्कको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x