सरकारले बजेटमार्फत विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

नीतिगत स्थिरतामार्फत लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग

सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजाने गरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट आउने र बजेटसँग मौद्रिक नीतिसँग सामञ्जस्य गराई निजी क्षेत्रलाई सँगसँगै लैजाने नीति लिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल गरेर सरकार अगाडि बढ्ने छ । यी सबै क्षेत्रमा निजी क्षेत्रले सहजपुरले लगानी गर्न सक्ने विषयमा मुख्य ध्यान दिइनेछ । अबका दिनमा निजी क्षेत्रका आकाङ्क्षा पूरा गर्ने नीति बनाउने र नीतिगत स्थिरतामा जोड दिइनेछ ।’

उहाँले अटोमोबाइल्स र जलविद्युतसहित निजी क्षेत्रका थप केही कुरा भए लिखितरुपमा अर्थ मन्त्रालयमा टिपाउन आग्रह गर्दै आर्थिक शिथिलता हटाउने हिसाबले बजेट ल्याउने गरी सरकार अगाडि बढेको जानकारी दिनुभयो । अर्थतन्त्र चलायमान गराउन र उद्योग व्यवसाय सञ्चालनको उपयुक्त वातावरण निर्माणमा सरकार गम्भीर रहेको सचिव मरासिनीको भनाइ छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सूर्य थापाले आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने विद्युत्, अटोलगायत क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र बजेट एवं मौद्रिक नीतिमार्फत सहजीकरण गरिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले देशलाई सबल बनाउन उद्योग क्षेत्रलाई बलियो बनाउने र उत्पादकत्व बढाउन निजी क्षेत्रलाई आर्थिक समृद्धिमा सँगै लैजाने हिसाबले सोह्रौँ आवधिक योजनामा समेटिएको जानकारी दिनुभयो । अब सरकारले आफूले अनिवार्यरुपले गर्नुपर्ने जिम्मेवारी मात्रै पूरा गर्ने र बाँकी समृद्धिका क्षेत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने धारणा  डा. फुयाँलले राख्नुभयो । कार्यक्रममा सांसद दीपक खड्काले बजेट कार्यान्वयनमा जोड दिँदै आफूहरू पनि त्यसमा सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष कार्कीले अब बैङ्क तथा वित्तीय संस्थाले कम्तीमा पनि २० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने बाध्यात्मक व्यवस्था बजेटमार्फत हुनुपर्ने माग गर्नुभयो । उहाँले पिपिए खोल्नुपर्ने र लगानी गर्ने वातावरण बजेटमार्फत निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको उपयोग बढ्दै जाँदा हरित ऊर्जा उपयोगतर्फ ध्यान गएको भन्दै जलविद्युत पिपिए खोल्ने, पिपिए गरेका आयोजना सम्पन्न गर्ने र निजी क्षेत्रलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । उहाँले विद्युत् उत्पादन एवं वितरणमा जग्गा र वनका लागि प्राधिकरणले लगानी गर्नुपर्दा लागत बढिरहेको भन्दै बजेटमार्फत यसको सहरीकरणमा लाग्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

यस्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटमार्फत अटोमोबाइल्स क्षेत्रमा सहजीकरण गर्दै मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने माग गर्नुभयो । निराश भइरहेका व्यवसायीलाई आशा जगाउने गरी सरकारले अटो क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले यो क्षेत्रमा काम गर्ने र उद्योग फस्टाउने वातावरण भएमा सरकारको आय बढाउने उद्देश्य पनि पूरा हुने धारणा राख्नुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रूपमा लिएर सोही अनुरूपको बजेट र नीति लिनु आवश्यक रहेको धारणा राख्नुभयो । लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औँल्याउँदै उहाँले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालीन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको बताउनुभयो ।  अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै उहाँले सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) नेपालका अध्यक्ष रोयल आचार्यले इमानले निजी क्षेत्र र सरकार बिच पुलको काम गरी आर्थिक समृद्धिमा लाग्न सहयोग पुर्‍याउने हिसाबले कार्य गरिरहेको धारणा राख्नुभएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x