नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबिच मङ्गलवार महासङ्घ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भयो ।
उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पूर्वाधार विकास एवं लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कोभिडपछिको तीव्र बिस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताउनुभयो ।
निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रय शक्ति पनि घट्दै गएको उहाँले बताउनुभयो ।
नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासङ्घसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।
पछिल्लो समय निगमसँगको सहकार्यमा महासङ्घले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो ।
महासङ्घले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सिप विकास महत्त्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो ।
लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धन लगायतका विषयको नेतृत्व गर्नुहुन्छ ।
भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासङ्घका उपाध्यक्ष द्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
 
महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्य
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    