बन्दीपुर केबलकार एन्ड टुरिजमले निर्माण गरेको केबलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटेल र केबलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ ।
पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबलकार र पाँचतारे होटेलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
टावरभित्र व्यवस्थापन तथा कोठाहरू मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । त्यसै गरी केबलकारतर्फ एक पटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबलकार सञ्चालनका लागि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय अनुमति पत्र लिनका लागि प्रक्रियामा रहेको छ ।
रु ५० देखि २५ हजारसम्म टिकट शुल्क
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ । बन्दीपुर केबलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ ।
एसियाकै ठुलो दाबी गरिएको बन्दीपुरको सिद्ध गुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताउनुभयो । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ ।
केबलकार र पाँचतारे होटेल गरी कूल रु तीन अरब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटक पटक केबलकाररको परीक्षण कार्य सम्पन्न गरिसकेको छ । असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकहरूले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटेलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरू सजिलै देख्न सकिनेछ । उक्त होटेलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङ्ग रोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेको छ ।
केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबलकारभित्र रेस्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । तल्लो र माथिल्लो स्टेसनमा रेस्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । “उहाँले भन्नुभयो, “कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेय पदार्थसमेत उपलब्ध गराइने छ ।” प्रत्येक साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ ।
त्यसै गरी केबलकाररको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटेल पनि निर्माण भइरहेको छ । उक्त होटेल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठुलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रो कार र तारे स्तरसम्मको होटेल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटेलभित्रै केबलकार पुगेर टुङ्गिनेछ ।
सत्र तल्लाको पाँचतारे होटेल
बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटेल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिल टप नाम दिइएको उक्त होटेलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठुलो सभा हललगायत निर्माण भइरहेको छ । होटेलको सुरु तल्लाबाट १७ तल्लासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।
बन्दीपुर केबलकार र पाँचतारे होटेल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीहरूको रहेको छ । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ । “बन्दीपुरमा घुम्न आउने पर्यटकहरूलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य नै हो”, अध्यक्ष शर्माले भन्नुभयो ।
केबलकार र पाँचतारे होटेलको प्रचारप्रसार सँगै आन्तरिक एवं बाह्य पर्यटकको चहलपहलमा वृद्धि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैंश गुरुङले बताउनुभयो । आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटेल व्यवसायीहरू केबलकार र होटेल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । “बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्यटनको सङ्ख्या वृद्धि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ ।” बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएपछि यहाँका होटेल व्यवसायीहरूले राहतको महसुस गर्न थालेका छन् ।
तल्लो स्टेसनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेस्टुरेन्ट (टुरिस्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ ।
समग्र बन्दीपुरको विकासमा टेवा
बन्दीपुर केबलकार र होटेल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवर्द्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटेल र होमस्टे प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । “बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो, “बन्दीपुरको पर्यटनमाथि उकासिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटनको सङ्ख्यामा वृद्धि हुन्छ ।”
केबलकारसँगै सिसाको भ्यु टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुरका खड्गमाई, विन्दवासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रूपमा पर्यटन प्रवर्द्धन गर्न लागिएको छ । अध्यक्ष थापाले भन्नुभयो, “यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ ।”
शेयर निष्कासनको तयारी
त्यसै गरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीको लागि छुट्ट्याइनेछ । केबलकार र ‘क्विन टावर’ र होटेल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
“रु दुई करोड ५५ लाखको १२ प्रतिशत शेयर निकालिनेछ”, उहाँले भन्नुभयो, “केबलकार तयारी अवस्थामा छ तर केबलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो ।”
१७ तल्ले पाँच तारे होटेल सहितको बन्दीपुर केबलकारको टिकट शुल्क रु ५० देखि २५ हजार सम्म
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    