नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनु भएको छ ।
“ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको धारणा राख्नु भयो ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उहाँले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताउनु भयो ।
उहाँले सिक्लेसमा नयाँ केबलकार निर्माणको चरणमा रहेको र केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताउनु भयो ।
“सिक्लेस एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ । केबलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ । ” उहाँले भन्नु भयो ।
सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ केबुलकारको लागि प्रक्रियागत कामहरू सकिई सकेको जानकारी दिँदै उहाँले केबलकार निर्माणले सो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
यस्तै उहाँले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको सर्हना गर्नुभयो ।
मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणको लागि सरकार सधैँ तयार रहेको बताउनु भयो ।
गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमशृङ्खला देख्न सकिन्छ । कास्की जिल्लाको उत्तर पूर्वी भागमा रहेको सिक्लेस पोखराबाट करिब ४० किमीको दूरीमा पर्दछ ।
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%