नेपाल राष्ट्र बैङ्कले भोलि शुक्रवार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले सो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । सो ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।
यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्कासन हुनेछ । पाँच वर्ष अवधिको सो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट–अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
घटीमा रु पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैङ्कले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्ट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत मात्र हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले शुक्रवार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
