चालु आर्थिक वर्ष २०८०/८१ को सुरु आती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रु एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।
सरकारले चालु आ.व. का लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रु ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पुँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्टाइएकोमा भदौ मसान्तसम्ममा रु ८ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।
वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ । मुख्य गरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आ.व. का लागि रु ३ खर्ब सात अर्ब ४५ करोड बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट रु ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ ।
यही अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालु आ.व. का लागि सरकारले कूल रु १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्टाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रु १ खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ ।
कर राजस्व वार्षिक लक्ष्यको ९ दशमलव ८ प्रतिशत अर्थात् रु १ खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैर कर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् रु १३ अर्ब १२ करोड बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।
दुई महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च, १ खर्ब ५४ अर्ब राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
