नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अङ्गबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र समृद्धि हासिल गर्न सम्भव रहेको बताउनुभयो ।
शुक्रवार वीरगन्जमा आयोजित औद्योगिक प्रवर्द्धन कार्यक्रम तथा मधेस सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य तथा यसका हरेक निकायबाट निजी क्षेत्रलाई पार्टनरको रूपमा लिनुपर्ने समेत बताउनुभयो ।
छोटो समयमा दक्षिण पूर्वी एसियाली मुलुक मेलेशियाले हासिल गरेको विकास र सम्मृद्धिको उदाहरण दिँदै ढकालले भन्नुभयो, “निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीन वटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सृजना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो । विकास र समृद्धि हासिल हुने हो ।”
उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुपर्यो । राज्यले निजी क्षेत्रलाई पार्टनरको रूपमा लिनुपर्यो । त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुपर्यो ।”
तर, नेपालमा क्याबिनेटबाट भएका निर्णयहरू समेत कार्यान्वयन हुन नसकेको अवस्था छ । त्यसले केन्द्रदेखि स्थानीय तहसम्मको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको छ, उहाँले भन्नुभयो ।
मधेस प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीहरूलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिको लागि निजी क्षेत्रको तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताउनुभयो ।
“स्थानीयतह तथा यहाँका व्यवसायी साथीहरूले यस प्रदेशमा रहेका व्यावसायिक सम्भावना भएका आयोजनाहरूको पहिचान गर्नुहोस् । त्यस आयोजनालाई अगाडि बढाउन आवश्यक पर्ने पुँजी र प्रविधि जुटाउने र त्यसलाई निर्माण गरी सञ्चालन गर्न निजी क्षेत्रको तर्फबाट म तयार छु,” उहाँले भन्नुभयो ।
नेपालको पर्यटन क्षेत्रको समग्र विकासका लागि केबलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकिने बताउँदै उहाँले यसले पूर्वदेखि पश्चिमसम्म नै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
“अहिले बेला बेलामा विभिन्न किसिमका पर्यटन सर्किटका कुरा उठ्ने गरेका छन् । तर मैले नेपालको पुरै क्षेत्रलाई समेट्ने गरी केबलकार धार्मिक पर्यटन सर्किटको प्रस्ताव गरेको छु । यसले पूर्वदेखि सुदूरपश्चिमसम्म समेट्न सक्छ । अहिले सीमित क्षेत्रमा केन्द्रित रहेको पर्यटनलाई विकेन्द्रित गर्ने र नयाँ नयाँ गन्तव्यहरू निर्माणमा सहयोग पुग्न सक्छ,” उहाँले भन्नुभयो ।
पर्यटन क्षेत्रले पर्यटक र विदेशी मुद्रा भित्र्याउने मात्र नभई विभिन्न क्षेत्रसँग जोडिएका सानादेखि ठुलासम्म अनेकन व्यवसायलाई सहयोग पुग्ने हुँदा पर्यटन क्षेत्रको पवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको पर्यटक बसाई र उनीहरूको दैनिक खर्चलाई दोब्बर गर्न नयाँ नयाँ पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रदेखि नजिक रहेका नेपालका हिल स्टेसनहरू भारतीय पर्यटकहरूको रोजाइका नयाँ गन्तव्य बन्ने गरेको बताउँदै ती हिल स्टेसनहरूको प्रवर्द्धनमा विशेष कार्यक्रम बनाउन तीन वटै सरकारलाई आग्रह गर्नुभयो ।
निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छ, अध्यक्ष ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
