शिथिल अर्थतन्त्रलाई गतिदिन निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ।
मौलाकाली केवलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैँडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठुलो रहेको बताउनुभयो । तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उहाँले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रूपमा विकास गर्ने पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गर्नु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहनु भएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताउनु भयो । मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकीय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तीव्र पारेको बताउँदै बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी पनि अध्यक्ष ढकालले दिनुभयो ।
मौलाकाली केबलकार सहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्त्व बारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहुँ र नवलपुरको सङ्गम क्षेत्र नेपालकै धार्मिक तथा सांस्कृतिक महत्त्वको पवित्र भूमि रहेको बताउनु भयो ।
मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।
पर्यटनको विकासमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गर्नु भयो । स्थानीय सांस्कृतिक महत्त्वका संरचनाहरू राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै अध्यक्ष ढकालले नवलपुरको गहनाका रूपमा निर्मित मौलाकाली केवलकार सहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रूपमा विकास गर्ने मोडल अघि सारि स्थानीय समुदायको अधिकतम सहभागिता गराएको पनि बताउनु भयो ।
अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन् घट्दो छ । यसलाई बढाउनु पर्ने चुनौती छ । पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठुला पूर्वाधारहरू निर्माण गर्नुपर्ने छ ।
यहाँको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको ज्ञानका लागि नेपालमा पर्यटक आउने गर्छन् । त्यसैले थप पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्ने र यसमा सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुने पनि अध्यक्ष ढकालले बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नु भयो “हामीलाई प्रकृतिले अपार सम्पदा वरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्न सक्ने सम्भावना असङ्ख्य छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ । मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका पनि छौँ” ।
धेरै स्थानीय तहहरूले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ र त्यसका लागि लगानीकर्ताहरूलाई आह्वान मात्र गरेर पुग्दैन ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताउनु भयो ।
समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ भन्नेमा आफू दृढ रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।
उहाँले मौलाकाली केवलकार तथा पर्यटकीय पूर्वाधार निर्माणमा सहयोग गर्ने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, राजनैतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत अन्य सबै सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गर्नु भयो ।
करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेसनसम्म पुग्न सकिन्छ ।
माथिल्लो स्टेसनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ पुल र रेस्टुरेन्ट रहेका छन् ।
परियोजनाको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
मौलाकाली केवलकारको औपचारिक उद्घाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
