भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र बैंक हो ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबिच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबिचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकले विश्वास लिएको बताएको छ । सो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ ।


यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमा पार व्यापारसम्बन्धी कारोबारहरूलाई सहज गर्नेछ ।

नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणको लागि नबिल बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ । यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा साबित हुने नबिल बैंकले जनाएको छ ।

एक्जिम बैंक आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौँदेखि एक्जिम बैंकले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रभावकारी रणनीति तथा उत्कृष्ट व्यवस्थापन अभ्यासका साथ नबिल सबै सरोकारवालालाई सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने पहिलो रोजाइको बैंकका रूपमा स्थापित भएको छ । व्यावसायिक बैंकिङ सेवाहरूमार्फत नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिटेन्स र इन्भेस्टमेन्ट बैंकिङजस्ता सेवा प्रदान गर्दै आएको छ ।

देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटिएम, असङ्ख्य पोस (पीओएस) टर्मिनल, रेमिटेन्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x