निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभाको अवसरमा मङ्गलवार  राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताउनुभएको छ ।
 

“नेपालमा लगानीको वातावरण छ । पुराना र जटिल कानुनहरू परिवर्तन भएका छन् । अरू बाँकी कानुनहरू परिवर्तन हुँदै छन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईँले अन्य देशमा पाउने भन्दा राम्रो छ,” उहाँले भन्नुभयो । गैर आवासीय नेपाली सङ्घले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न सुरु गरेको बताउँदै यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो । नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
 

“तपाईँहरूले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।
उक्त अवसरमा उहाँले गैर आवासीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरूलाई नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको जानकारी गराउनुभयो । उहाँले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली सङ्घलाई आग्रहसमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x