कस्तो होला ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू गाभिए पश्चातकाे बैङ्क ?



ज्ञानमाण्डू। ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू बीच मिति २०७९ असार २ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ। दुई बैङ्कबीच भएको मर्जर सम्बन्धी सम्झौता अनुसार ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू एक बराबर एककाे शेयर आदानप्रदान अनुपात (Swap Ratio) मा मर्ज हुन लागेका हुन् । यसको अर्थ दुवै बैङ्कका शेयर धनीको शेयर कित्तामा कुनै फरक पर्ने छैन भने मर्जर पश्चात् बैङ्कको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ। 

कस्तो होला ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू गाभिए पश्चातकाे बैङ्क ?

(आर्थिक वर्ष २०७८/७९ काे तेस्राे त्रैमासको वित्तीय विवरणका आधारमा)


चुक्ता पुँजी: ग्लाेबल आइएमई बैङ्कको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैङ्क अफ काठमाण्डूको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ। एक बराबर एक स्वाप अनुसार मर्जर पश्चातकाे बैङ्कको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ हुनेछ र चुक्ता पुँजीकाे आधारमा नेपालकै ठुलो बैङ्क बन्ने छ।

जगेडा कोष: दुवै बैङ्कको जगेडा कोष जाेड्दा १५ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ।

निक्षेप सङ्कलन र कर्जा लगानी: दुवै बैङ्कमा सङ्कलन भएको निक्षेप जोड्दा ३ खर्ब ७३ अर्ब रुपैयाँ हुनेछ भने कर्जा लगानी ३ खर्ब ६२ अर्ब रुपैयाँ पुग्नेछ। अहिले सबै भन्दा धेरै निक्षेप सङ्कलन र कर्जा प्रवाह ग्लाेबल आइएमई बैङ्ककाे रहेको छ।

नाफा: ९ महिनाको नाफा अर्थात् आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्म हेर्दा ग्लाेबल आइएमई बैङ्कको खुद मुनाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने बैङ्क अफ काठमाण्डूकाे खुद मुनाफा ८७ करोड ७ लाख रुपैयाँ रहेको छ। दुवै बैङ्कको नाफा जोड्दा ४ अर्ब ५९ करोड रुपैयाँ हुनेछ। १० महिना अर्थात वैशाख अन्तिमसम्मकाे नाफा हेर्दा ग्लाेबल आइएमई बैङ्कको ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने बैङ्क अफ काठमाण्डूकाे १  अर्ब ५ करोड रुपैयाँ रहेको छ अर्थात मर्जर पश्चात् बैङ्ककाे नाफा ५ अर्ब ३६ कराेड रूपैयाँ हुनेछ।

वितरण योग्य मुनाफा : ९ महिनाको वितरण योग्य मुनाफा हेर्दा ग्लाेबल आइएमई बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने बैङ्क अफ काठमाण्डूको वितरण योग्य मुनाफा ४० करोड २५ लाख रुपैयाँ रहेको छ। दुवै बैङ्कको वितरण योग्य मुनाफा जोड्दा २ अर्ब ३२ करोड रुपैयाँ हुनेछ।

निष्क्रिय कर्जा अनुपात: निष्क्रिय कर्जा अनुपात हेर्दा ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू दुबैकाे निष्क्रिय कर्जा अनुपात १ दशमलव ४५ प्रतिशत रहेको छ।

प्रति शेयर नेटवर्थ : बैङ्क अफ काठमाण्डूको प्रति शेयर नेटवर्थ १५७ रुपैयाँ ४८ पैसा हुँदा ग्लाेबल आइएमई बैङ्कको १४९ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रति शेयर आम्दानी : ग्लाेबल आइएमई बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ ८८ पैसा छ भने बैङ्क अफ काठमाण्डूको प्रति शेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ।

यी दुई बैङ्कबीचकाे मर्जर प्रक्रिया सफल भएमा मर्जर पश्चातकाे बैङ्क चुक्ता पुँजी साथै निक्षेप सङ्कलन र कर्जा लगानीको अर्थात् व्यवसायको आकारले नेपालकै ठुलो बैङ्क बन्ने छ र अन्य बैङ्कलाई पनि मर्जर तथा प्राप्तिमा जान दबाब सिर्जना गर्ने देखिन्छ।

नोट : यो ग्लाेबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू बिच भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताका आधारमा मर्जर  पश्चताको आकलित तथ्याङ्क मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x