गरीबी र बेरोजगारी हटाउँदै सहकारी

ज्ञानमाण्डू।यहाँ सञ्चालित सहकारी संस्थाले झन्डै रु दुई अर्वभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटेल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । 

बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार/व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका लगानी खर्चिएको छ । उत्पादनमूलक क्षेत्रबाहेक घर/जग्गा व्यवसायमा समेत लगानी हुँदै आएको प्रतिवेदनले औँल्याएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिकामा २९२ सहकारी संस्था सञ्चालनमा रहेका छन् । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी गरिबी र बेरोजगारी हटाउन आफ्ना बचतलाई परिचालनमा जोड दिइराखेका छन् । पछिल्लो समय यस्ता लगानीबाट युवालाई स्वरोजगार बनाउन सहयोगी साबित भएको छ । 

यहाँ ३० करोडभन्दा माथि शेयर पुँजी सङ्कलित छ । रु दुई अर्वभन्दा माथि बचत र ऋण परिचालन भएको छ । जिल्लामा सञ्चालित सहकारीमार्फत महिलाले रोजगारीका अवसर प्राप्त गरेका छन् । व्यवस्थापक, बजार प्रतिनिधिलगायतका पदमा महिलाको आकर्षण बढ्दो छ । कूल रोजगारीको झन्डै ६५ प्रतिशतभन्दा बढी महिला छन् । जिल्लामा सञ्चालित सहकारीमार्फत झन्डै ५१० जनाले रोजगारी पाउन सफल बनेको बचत तथा ऋण सहकारी सङ्घका जिल्ला अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए । 

जिल्लामा ८७ हजार ४०५ शेयर रहेका मध्ये महिला ५३ हजार ६०५ सदस्य छन् । एक हजार ५१२ सञ्चालकमध्ये महिला ९२३ रहेका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा योजनाबद्ध रूपमा सहकारी उद्यमशीलताको विकास गर्दै अघि बढेको देखिएको छ । 

सहकारीको प्रवर्द्धन, अनुगमन र निरीक्षणमा चासो नदिँदा प्रभावकारिता हुन सकेको छैन । प्रदेश नं ५ को सन्दर्भमा चार हजार २३७ सहकारी संस्था छन् । सहकारी संस्था सञ्चालनका लागि ३३ हजार ३७६ सञ्चालक छन् । प्रदेशमा ११ लाख ११ हजार ३१५ सदस्य र छ हजार ६६२ कर्मचारी छन् । प्रदेशमा रु छ अर्व ३४ करोडभन्दा माथि शेयर पुँजी छ । रु ३० अर्व १६ करोडभन्दा माथि बचत र रु ३४ अर्व ५० करोडभन्दा माथि ऋण लगानी परिचालित छ । 

नेपालमा हाल ३५ हजार बढी सहकारी संस्था सञ्चालित छन् । सहकारीमार्फत सानादेखि ठुला व्यवसाय सञ्चालन गर्नका लागि सहज भएको छ । कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान छ । सहकारीमार्फत ६० हजार ५१७ जनाले प्रत्यक्ष रोजगारी पाउन सफल छन् । नेपालको सहकारी अभियान विधिवतरूपमा विसं २०१३ चैत्र २० गते चितवनको बखानुपुर ऋण सहकारी संस्थाको स्थापनाबाट भएको हो । 

जिल्ला सहकारी सङ्घ पाल्पाका सचिव भूपति पाण्डेयका अनुसार जिल्लामा २९२ सहकारी सञ्चालनमा छन् । चार वटा विषयगत, एक जिल्ला सहकारी सङ्घ, जिल्ला स्तरीय बचत तथा ऋण सहकारी संस्था सक्रिय रूपमा सञ्चालित छन् । 

बचत तथा ऋण सहकारीमा ९१, दुग्ध १९, बहुउद्देश्यीय ३८, कृषि १०८, अदुवा नौ, कफी नौ, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, बीउ बिजन, कोसेली र स्वास्थ्य एक÷एक सहकारी संस्था रहेको सहकारी सङ्घका सचिव भूपति पाण्डेयले बताए । जिल्लामा ९१ बचत तथा ऋण सहकारीमध्ये जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा ६३ आबद्ध हुँदै आएका छन् । ठुलो मात्रा उत्पादनमूलक क्षेत्रमा नै लगानी हुँदै आए पनि स्थानीय तहमा ठोस योगदान भएको देखिएको छैन ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x