
सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा आगामी असोज २२ गते आयोजना गर्ने भएको छ। बैङ्कको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। बैङ्कका अनुसार सभा काठमाडौँको गैरीधारा स्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयर धनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
यस्तै, उपयुक्त बैङ्क तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
बैङ्कले साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयर धनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैङ्कले असोज २२ गते साधारण सभा बोलायो, १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
