नेपालकै पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् आइपिओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतामा मकालु वाइनका अध्यक्ष पीताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गर्नुभएको छ।
वि.सं. २०५२ सालमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा स्थापना भएको यो कम्पनी समुद्र सतहदेखि करिब दुई हजार आठ सय मिटर उचाइमा रहेको छ। कम्पनीले प्राकृतिक मुहानको पानी र चुत्रो तथा ऐँसेलुजस्ता जङ्गली फलबाट अर्ग्यानिक “हिंवा वाइन” उत्पादन गर्दै आएको छ। कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ।
कम्पनीमा देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अङ्गुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी पनि गरिरहेको जनाएको छ।
आइपिओ निष्कासनसँगै नेपालको अर्ग्यानिक वाईन उद्योगलाई पुँजी बजारसँग जोड्ने महत्त्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री व्यवस्थापन, सेयर रजिस्ट्रेसन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैङ्किङ संस्था हो ।
मकालु वाइन इन्डस्ट्रीजले १० लाख कित्ता आइपिओ ल्याउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
