
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर वितरण प्रक्रिया सम्पन्न भएपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले ३४ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। कुल निष्कासित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोष तथा १७ हजार कित्ता कर्मचारीका लागि छुट्टाइएको छ।
यी सबै हिस्सा छुट्टाइसकेपछि सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याइनेछ। प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका आधारमा यस निष्कासनबाट कम्पनीले ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ।
आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम म्याद असार २ गते तोकिएको छ। मागअनुसार आवेदन नपरेमा बिक्री अवधि असार ११ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था, तिनका शाखा वा ‘मेरो शेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सर्वोत्तम पेन्ट्सको आइपिओ जेठ २८ गते देखि खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
