सानिगाड हाइड्रोको आइपिओ जेठ १४ गतेदेखि खुल्ने


सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर बाँडफाँड सम्पन्न गरेपछि कम्पनी दोस्रो चरणमा सर्वसाधारणतर्फ निष्कासनमा जान लागेको हो।

कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँ मूल्यको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

यसै गरी, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्टाइसकेको जनाएको छ।

अब कम्पनीले बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याउनेछ। कुल निष्कासन रकम ४६ करोड ७४ लाख रुपैयाँ बराबरको हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा छिटोमा जेठ २० गतेसम्म तथा आवश्यक परे ढिलोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ।

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x