नेपाल बैंकर्स सङ्घ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै हाल बैङ्क तथा वित्तीय संस्थाहरू सुरक्षित रहेको स्पष्ट पारेका छन्। सङ्घहरूले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक र आधारहीन सूचनाहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ कि नेपालको बैङ्किङ क्षेत्र नेपाल राष्ट्र बैङ्कको सूक्ष्म निगरानीमा रही पारदर्शी रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको छ। त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्दै आएका बैङ्क तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय बैङ्किङ मापदण्ड (जस्तै Basel) र नेपाल राष्ट्र बैङ्कको नीति तथा निर्देशनलाई पालना गर्दै सुशासनमा प्रतिबद्धता देखाएको सङ्घहरूको भनाइ छ।
हाल बैङ्क तथा वित्तीय संस्थाहरू सुरक्षित रहेको र जोखिम बहन गर्ने क्षमतामा कुनै कमी नभएको स्पष्ट पार्दै सङ्घहरूले सामाजिक सञ्जालमा बैङ्कहरूको नाम जोडेर गरिएको गलत प्रचारमा नफस्न अनुरोध गरेका छन्। साथै, नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार प्रत्येक बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापित "निक्षेप तथा कर्जा सुरक्षा कोष" मार्फत सुरक्षित रहेको पनि स्मरण गराइएको छ।
सङ्घहरूले बैङ्किङ क्षेत्रलाई अराजक गतिविधिबाट जोगाउन सबै सरोकारवालाहरूलाई सहयोग गर्न अनुरोध गर्दै आम नागरिकलाई त्रसित बनाउने, गलत सूचना प्रवाह गर्ने तथा बैङ्किङ सेवाबाट वञ्चित गराउने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
बैङ्क तथा वित्तीय संस्थाहरूप्रति विश्वास, सद्भाव, र सहयोग प्रदान गर्ने ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै सङ्घहरूले भविष्यमा सेवा सुविधालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
बैंक तथा वित्तीय क्षेत्र सुरक्षित, अफवाह फैलाउनेलाई कडा कारबाहीको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
