नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ। माघ १८ गते बुक क्लोज गर्ने निर्णयअनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले मात्र हकप्रद शेयर भर्न पाउनेछन्।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो। नेको इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.२५ अनुपातमा अर्थात् २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।
५० लाख ३० हजार भन्दा बढी कित्ता शेयर जारी हुने
कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ। यसबाट कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ जुटाउने योजना बनाएको छ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटललाई दिइएको छ।
हकप्रदपछि चुक्ता पुँजीको लक्ष्य
नेको इन्स्योरेन्सको हालको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ, जसले नियामकीय आवश्यकता पूरा गर्न मद्दत गर्नेछ।