आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: ढकाल
नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउँदै उहाँले यस्ता समस्याको समाधान हुने बताउनुभयो । मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनु भयो।
भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले आर्थिक निकायबिच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताउनुभयो ।
ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गर्नुभयो । उहाँले यो समस्याले उद्योगलाई ठुलो असर पारेको र उत्पादनमूलक गतिविधिहरू सङ्कुचित भएको बताउनुभयो । उद्योगले क्षमताअनुसार चल्न नसकेको उहाँले बताउनुभयो ।
ढकालले अर्थतन्त्र सङ्कुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा समेत असर परेको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले मुद्रास्फीति ४.१७ प्रतिशतमा झरेको देखाए पनि वास्तविकतामा कोभिड यता ७ प्रतिशतको दरले बढ्दै गएको बताउनुभयो । जसका कारण जनताको क्रय शक्तिमा ह्रास आएको बताउँदै उहाँले बजारको माग पनि घटेको बताउनुभयो । ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गर्नुभयो ।
ढकालले मन्त्री पौडेललाई कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको बताउनुभयो । त्यसैले रेमिट्यान्समार्फत देश भित्रिएको पैसा बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको छ । कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उहाँले बताउनुभयो ।
ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताउनुभयो । यो विगतमा हामीले अपनाएका गलत नीतिको परिणाम हो भनी जानकारी गराउनुभयो । ढकालले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
