ग्लोबल आइएमई बैङ्क र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

ग्लोबल आइएमई बैङ्क लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैङ्कको तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रूपमा रहेको र ग्लोबल आइएमई बैङ्क पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैङ्कले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा  समेत बताउनुभयो । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसे ढुङ्गा साबित हुने कुरा पोखरेलले उल्लेख गर्नुभयो ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरूबाट भौतिक रूपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैङ्कले आफ्नो मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्स जस्ता प्लेटफर्मले थप पहुँच विस्तार गरेको छ ।

सो बैङ्कमा प्रत्यक्ष रूपमा ४८ लाखभन्दा बढी ग्राहकहरूले उत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नु बैङ्कले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवाहरू तथा ग्राहकको विवरण सुरक्षणमा बैङ्कले लिएको पहलको उपजको रूपमा समेत लिन सकिन्छ । बैङ्कका सेवाग्राहीहरूलाई छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैङ्कले सूचना प्रविधिमा अङ्गालेको नीतिको रूपमा लिन सकिन्छ ।

सो दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैङ्कले नास–आईटीस“ग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू अगाडि बढाइने छ ।

ग्लोबल आइएमई बैङ्क नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

बैङ्क र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x