बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान

संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिडिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउन्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो ।

नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौता पत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँ स्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गर्नुभयो । सो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सो कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ । साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्त पोषण गर्ने अपेक्षा गरिएको छ ।

त्यसै गरी, हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा सुधार र जलवायु अनुकूल लगानी परियोजना विकासमा योगदान गर्ने बताइएको छ ।

त्यस अवसरमा अर्थमन्त्री महतले नेपाल– बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक वृद्धि, दिगोपन प्रवर्द्धन, गरिबी घटाउनेलगायत महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयनका निम्ति अनुदान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “आर्थिक रूपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्त्वपूर्ण छन्”, उहाँले भन्नुभयो ।

बेलायतीमन्त्रीले आर्थिक रूपान्तरण, जलवायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवर्द्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x