नेपालको ठुलो बैङ्कको रूपमा स्थापित नबिल बैङ्कको सम्पत्ति विगत ५ वर्षमा दोब्बरले वृद्धि भएको छ । बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार वर्ष २०७६ मा बैङ्कको कुल सम्पत्ति २ खर्ब १ अर्ब रहेकोमा वर्ष २०८० को असारसम्म आइपुग्दा बैङ्कको सम्पत्ति ४ खर्ब ८१ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल सम्पत्तिको वार्षिक वृद्धि दर १४ दशमलव ६२ प्रतिशत रहेको र विगत पाँच वर्षको वार्षिक चक्र वृत्ति वृद्धिदर २४ दशमलव ४८ प्रतिशत रहेको छ ।
त्यस्तै विगत ५ वर्षमा कुल निक्षेप परिचालनमा पनि बैङ्कले दोब्बर भन्दा वृद्धि गर्न सफल भएको छ। वर्ष २०७६ सम्ममा १ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेको बैङ्कले वर्ष २०८० को असारसम्म आइपुग्दा निक्षेप सङ्कलन ४ खर्ब २ अर्ब पुर्याएको छ । निक्षेप सङ्कलनमा आ.व. २०७९/८० को वार्षिक वृद्धिदर २२ दशमलव १८ प्रतिशत रहेको छ भने विगत पाँच वर्षको वार्षिक चक्र वृत्ति वृद्धिदर २४ दशमलव २५ प्रतिशत रहेको छ ।
विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा कुल कर्जा सापट पनि दोब्बर भएको छ । वर्ष २०७६ सम्ममा १ खर्ब ३३ अर्ब रहेको बैङ्कको कुल कर्जा तथा सापट वर्ष २०८० को असारसम्म आइपुग्दा ३ खर्ब ३९ अर्ब पुगेको छ । कुल कर्जा शीर्षक अन्तर्गत आ.व. २०७९/८० को वार्षिक वृद्धिदर ९ दशमलव २८ प्रतिशत रहेको छ भने विगत पाँच वर्षको वार्षिक चक्र वृत्ति वृद्धिदर २४ दशमलव ४७ प्रतिशत रहेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा बैङ्कले रु. ६ अर्ब ४० करोड खुद मुनाफा आर्जन गरेको छ । सो रकम अगिल्लो वर्षको तुलनामा ५० दशमलव ४९ प्रतिशतको वृद्धि हो । अगिल्लो वर्षको तुलनामा खुद मुनाफामा उल्लेख्य वृद्धि देखिनुको मुख्य कारण भनेको अगिल्लो वर्षमा बैङ्कले प्राप्त गरेको साबिकको नेपाल बङ्गलादेश बैङ्कको मुनाफाको लेखाड्ढन सोझै कोषमा भएकोले हो ।
त्यस्तै बैङ्कको प्रमुख आम्दानीको श्रोत खुद ब्याज आम्दानीमा पनि बैङ्कले निरन्तर प्रगति गर्दै आएको देखिन्छ। वर्ष २०७५ को असार मसान्तसम्म ६ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको बैङ्कले वर्ष २०८० को असार मसान्तसम्म १७ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गर्न बैङ्क सफल भएको छ । पाँच वर्षअघिको तुलनामा समीक्षा वर्ष २०७९/८० सम्म आइपुग्दा वार्षिक चक्र वृत्ति वृद्धिदर अनुसार खुद ब्याज आम्दानीमा २३ दशमलव १७ प्रतिशत अर्थात् रु. ११ अर्ब ४९ करोडले वृद्धि भएको छ ।
विगत पाँच वर्षको आय विवरण हेर्दा नबिल बैङ्कको कार्यसम्पादन प्रभावकारी हुँदै गएको देखिन्छ । यस अवधिमा खुद मुनाफाको पाँच वर्षको वार्षिक चक्र वृत्ति वृद्धिदर ९ दशमलव ९७ प्रतिशत रहेको छ ।
पाँच वर्षअघिको तुलनामा समीक्षा वर्ष २०७९/८० सम्म आइपुग्दा वार्षिक चक्र वृत्ति वृद्धिदर अनुसार खुद शुल्क तथा कमिसन आम्दानीमा २२ दशमलव ९२ प्रतिशत अर्थात् रु. १ अर्ब ८६ करोडले वृद्धि भएको छ । यस शीर्षक अन्तर्गत बैङ्कले प्रदान गर्ने विभिन्न सेवाहरू जस्तै प्रतितपत्र तथा बैङ्क ग्यारेन्टी, क्रेडिट कार्ड तथा डेबिट कार्ड, रेमिटेन्स एवं कर्जा व्यवस्थापन शुल्क तथा एजेन्सी सेवामा हासिल गरेको वृद्धिका कारण आम्दानीमा वृद्धि भएको हो ।
नबिल बैङ्कमा सर्वसाधारण शेयरधनीको सर्वाधिक ४१ दशमलव ५६ प्रतिशत हिस्सा रहेको छ। त्यस्तै दोस्रोमा ३९ दशमलव ४४ प्रतिशत शेयर हिस्सा एनबी (इण्टरनेशनल)को रहेको छ । आईएफआईसी बैङ्क पिएलसीको ७ दशमलव ७७ प्रतिशत हिस्सा हुँदा राष्ट्रिय बीमा कम्पनीको ७ दशमलव ६३ प्रतिशत, मुथुट फाइनान्सको शून्य दशमलव ४४ प्रतिशत, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको शून्य दशमलव २६ प्रतिशत, एम.ए.डब्ल्यू इन्टरप्राइजेज प्राइभेट लि.को शून्य दशमलव २२ प्रतिशत र अन्य शेयरधनीको २ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
५ वर्षमा नबिल बैङ्कको सम्पत्ति दोब्बर, अन्य सूचकमा पनि आकर्षक वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
