नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एक अर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा यही मङ्सिर १७ गते काठमाडौँमा आयोजित नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँगको अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “दुवै सङ्घले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमै समाधान गर्नुपर्छ, विद्यमान कानुन अनुसार काम गर्नुपर्छ, बीमा क्षेत्रलाई अघि बढाउन संयुक्त रूपमा अघि बढ्नुपर्छ ।”
बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेस गर्न निर्देशन दिनुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुवै सङ्घले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको फि तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ ।”
अध्यक्ष सिलवालले भन्नुभयो, “दुवै सङ्घका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुने गरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्यो, बीमक र सर्भेयरको कारणले दाबी फर्छ्यौटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन ।”
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुने गरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर र बीमकसँग सम्बन्धित समस्या र समाधान सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।
यसै गरी, नेपाल बीमक सङ्घका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर सङ्घका अध्यक्ष मोहन पुरुष ढकालले बीमा सर्भेयर र बीमक बिचको सम्बन्ध, सर्भेयर फि तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षा सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँग अन्तरक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
