नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ ।
युएईको दुबईमा आयोजित र्वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरूमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।
उहाँले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताउनुभयो ।
“नेपाल सरकारले यही अप्रिल २८/२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ । साथै, विभिन्न सम्भावित साझेदार मुलुकहरूसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबिच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ,” उहाँले भन्नुभयो ।
उहाँले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिन समेत आग्रह गर्नुभयो ।
शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय सङ्घसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गर्नुभएको थियो ।
जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न र्वल्ड गभर्मेन्टस् समिटमा महासङ्घ अध्यक्ष ढकालको आह्वान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
