नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताउनु भएको छ ।
लुम्बिनी केबलकार लिमिटेडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एक पछि अर्को केबलकारहरू सञ्चालनमा आएकाले अब बुद्धिस्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवर्द्धनमा नौलो प्याकेज हुने बताउनुभयो । 
नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुवै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताउनुभयो ।
आईएमई ग्रुपको अगुवाइमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सात वटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताउनुभयो । नेपालमा सयौँ हिल्स एरिया रहेका र त्यहाँ केबलकार लगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको ढकालले बताउनुभयो ।
कुल ५ अर्ब लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन छ ।
टप स्टेसनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दी लगायतका धार्मिक संरचनाहरू छन् ।
लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी  नजिकै रहेकाले पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्यादेवी देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताउनुभयो ।
अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरूमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औँल्याउनुभयो।
भारतीय पर्यटकहरूलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गर्नेभयो ।
सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल सङ्ख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरू सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शनका लागि नेपालीसँगै भारतीय नागरिकको आकर्षण रहेको उहाँले बताउनुभयो ।
लुम्बिनी केबलकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पाँचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसी लगायतले नेपाल र भारतबिच सरकारी स्तर सँगै नागरिक स्तरको सहकार्यबाट दुवै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने बताउनुभयो ।
 
केबलकार सर्किट पर्यटनमा नयाँ आयाम : अध्यक्ष ढकाल
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    