नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ ।
एसिया-प्रशान्त चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री - क्यासि परिसघको आज काठमाडौँमा सुरु ३७ औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गर्नु भएको हो ।
नेपाली अर्थतन्त्रले ठुला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताउनु भएको हो । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताहरूका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।
नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बङ्गलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताउनु भयो ।
यसै गरी विश्व स्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठुला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो ।
नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनु भयो ।
नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गर्नु भयो ।
महासङ्घले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरूलाई सहयोग गर्न तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गर्नु भयो ।
नेपालमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरूलाई अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
