नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपाय बारे छलफल गरेको छ ।
बुधवार नेपाल राष्ट्र बैङ्क बालुवाटारमा गरिएको उक्त भेटवार्तामा महासङ्घका अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैङ्कले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो ।
बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले केन्द्रीय बैङ्कले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिनुभयो ।
यसै गरी निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरूले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गर्नुभएको छ ।
बैङ्कहरूको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उहाँको जोड थियो ।
सो अवसरमा गभर्नर अधिकारीले महासङ्घका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिनुभयो ।
उहाँले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीति मार्फत पनि महासङ्घका सुझावहरू समावेश गरिने जानकारी गराउनुभयो ।
साथै उहाँले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासङ्घसँगको सहकार्य नेपाल राष्ट्र बैङ्कका लागि पनि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
भेटमा महासङ्घका नवनिर्वाचित पदाधिकारीहरू तथा कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता थियो ।
महासङ्घका नवनिर्वाचित पदाधिकारी र गभर्नरबिच भेटवार्ता, तरलता बढाउँदै ब्याजदर घटाउने विषयमा छलफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
