नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासङ्घद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत् भेला २०८० लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासङ्घ अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताउनुभयो ।
“अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र चलायमान बनाउन र सही ट्र्याकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ । यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ, ” उहाँले भन्नुभयो ।
उहाँले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महासङ्घले यही असोज २५ गते अर्थतन्त्रका सबै सरोकारवाला पक्षलाई भेला गरी प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा वृहत् राष्ट्रिय छलफलको आयोजना गर्न गइरहेको जानकारी गराउनुभयो ।
“अर्थतन्त्रका सबै सरोकारवालाहरू एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई सङ्कटको समाधान हुँदैन । त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूको सहभागितामा वृहत् आर्थिक बहस सञ्चालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासङ्घले थालेको छ । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ,” उहाँले भन्नुभयो ।
उहाँले हालका चुनौती तथा आसन्न सङ्कटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजी क्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
“त्यसका लागि महासङ्घले सात वटै प्रदेशमा लगानी सम्मेलन तथा राष्ट्रिय स्तरमा चीन र भारत केन्द्रित लगानी सम्मेलनहरू आयोजना गर्दै छ । एकले अर्कोलाई आरोप लगाउनुको सट्टा सबै मिलेर समस्याको समाधान गर्ने हो भने अर्थतन्त्र लयमा ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रका सुझावका आधारमा नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र संशोधन गरेको बताउनुभयो ।
अर्थतन्त्र चलायमान बनाउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक छ, महासङ्घ अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
